
काठमाडौं— सरकारले उच्च शिक्षाको लागि स्नातकपछि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिने निर्णयबाट पछि हटेको छ ।
चौतर्फी दबाबपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ मा त्यस्ता नियमहरू हटाएको हो ।
यसअघि विश्वविद्यालयमा विद्यार्थी घट्न थालेपछि कक्षा १२ पछि उच्च शिक्षा लिन विदेश जान रोक लगाउने भन्दै सरकारले भाषा र डिप्लोमा कोर्स पढ्नको लागि एनओसी दिन रोकेको थियो । यति मात्र होइन, निर्देशिकाले स्नातक तह वा सोभन्दा माथिको शैक्षिक कार्यक्रमलाई मात्रै एनओसी दिने परिभाषित गरेको थियो, जुन १९ चैतदेखि लागु गरिएको थियो ।
शैक्षिक परामर्श दातृ निकाय (कन्सल्टेन्सी) र सरोकारवालाहरूले विरोध गरेपछि अन्ततः बुधबार साँझ मन्त्रालयले निर्देशिका जारी गर्यो । निर्देशिकामा परिच्छेद १ को परिभाषामा उच्च शिक्षा भन्नाले ‘कक्षा १२ वा सो सरह भन्दा माथिल्लो तहको शिक्षालाई सम्झनुपर्छ’ भनिएको छ । जसको अर्थ पुरानै नियमानुसार अब एनओसी पाउनेछन् ।













