पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

ताप्लेजुङ— जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ।
गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।
गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ। पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए।
बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरोमा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:३८













