News Griha :: न्यूजगृह
प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बङ्गलादेशमा झन् चर्कियो प्रदर्शन, २५ को मृत्यु

काठमाडौं— बङ्गलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन झन् चर्किएको छ। विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी भएको छ।

बीबीसी बङ्गाली सेवाका अनुसार अहिलेसम्म बङ्गलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ। साथै झडपमा सयौँ घाइते भएका छन्।

प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि पनि प्रदर्शन रोकिएको छैन। बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन्।

उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन्। उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन्। तर उनको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो। देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ।

बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन्। साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन्। अधिकांश बङ्गलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १२:२९
Weather Update