News Griha :: न्यूजगृह
मधेसमा कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

धनुषा — मधेसमा नेपाली कांग्रेस र लोसपाका मन्त्रीहरूले शपथ लिएका छन्। मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्।

प्रदेश प्रमुख भण्डारीले अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनियताको शपथ गराएकी छिन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिइन्। शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ।

कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो। जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेस सरकारलाई दिएको समर्थन फिर्ताको तयारी थालेको थियो। बिहीबार प्रदेश पार्टी कार्यालय जनकपुरमा संसदीय दलको बैठक बसेको थियो।

संसदीय दलको बैठक बसिरहेकै बेला अर्थसहित ४ मन्त्रालय कांग्रेसलाई दिन जनमत सहमत भएको थियो। सरकार विस्तार र मन्त्रालय बाँड्ने विषयमा जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धन दलका नेताहरूसँग बिहीबार छलफल गरेका थिए।

मधेसमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी भएको छ। गठबन्धनमा रहेको लोसपाले २ मन्त्रालयको अडान राखेको थियो।

मुख्यमन्त्री सिंहले १ मन्त्रालय मात्रै दिन सक्ने बताएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले रानी शर्मा तिवारीलाई मन्त्रीको लागि नाम सिफारिस गरेका हुन्। सरकारमा सहभागी हुने र मन्त्री पठाउने विषयमा केन्द्रबाटै निर्णय भएको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:३५
Weather Update