
काठमाडौं— मन्त्रिपरिषद् मातहतका पाँच समिति र संयोजक तय भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रिपरिषद्का विभिन्न समिति गठन गरी तिनका संयोजक तोकेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको जानकारी दिएका छन्।
जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, आर्थिक पूर्वाधार समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ।
विधेयक समितिको संयोजक गृहमन्त्री रमेश लेखकलाई बनाइएको छ भने प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन्। सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रहेका छन्।
नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।