News Griha :: न्यूजगृह
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो

चितवन— सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ।

भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो।

शवको सनाखत हुन बाँकी छ। शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ। योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।

गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो। ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ।

घटनाको ७ दिनसम्म पनि बसहरू फेला परेका छैनन्। 

वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडाैंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो। बस पानीमा खसे पछि ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए। 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:४६
Weather Update