
काठमाडौं— नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई बुधबार (साउन २ गते) महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्छन्।
महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानुन विभागका प्रमुख हुन्। यसअघिका महान्यायाधिवक्ता दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए।