
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।
ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे।
‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ। गौरवपूर्ण इतिहास छ। भविष्य राम्रो छ। त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ।’
इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकाङ्क्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए।