
काठमाडौं— द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।
निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन्। श्रेष्ठको भोलि (शुक्रबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनायो।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन्। उनका दुई छारी छन्। श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ।
श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघसंगठनमा नेतृत्वदायी भूमिका रहेर लामो समय काम गरेको अनुभव छ। श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन्। उनले विभिन्न ट्राभल एजेन्सीसमेत चलाइरहेकी थिइन्।













