-1721038076.jpg)
काठमाडौं— नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिँदैछन्।
संसद्का प्रमुख २ दल कांग्रेस र एमाले मिलेर सरकार बनेकाले प्रधानमन्त्री ओलीलाई सामान्य बहुमतका लागि समस्या हुँदैन। दुवै दल मिल्दा स्पष्ट बहुमत पुगिसकेको छ।
तर नयाँ गठबन्धनले संविधान संशोधनको सहमति गरेको चर्चाबीच प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्छ कि पुग्दैन भन्ने चासो देखिन्छ।
प्रधानमन्त्री ओलीको शपथ ग्रहणकै दिन मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ। अधिकतम २५ सदस्यीय मन्त्रिपरिषद् हुने भएकाले अब ३ सदस्य मात्रै रिक्त छ। मन्त्रिपरिषद् लगभग पूर्ण भइसक्दा सरकारमा कांग्रेस, एमाले, जसपा र लोसपा सहभागी छन्।
कूल २७५ सदस्यीय प्रतिनिधि सभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन चाहिन्छ। सरकारमा रहेका दलहरू कांग्रेस, एमाले, जसपा र लोसपाका सांसदको संख्या जोड्दा १७७ पुग्छ। नयाँ गठबन्धनले जनमतलाई मधेस प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेकाले जनमतसमेत जोड्दा प्रधानमन्त्री ओलीको पक्षमा १८३ सांसदको समर्थन देखिन्छ।
जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समेत ओलीलाई समर्थन गर्ने देखिएकाले दुईतिहाइ बहुमत पुग्ने देखिएको छ। राप्रपाले संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएको छ।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७८, माओवादीका ३२, रास्वपा २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जसपा नेपालका ५, जनमतका ६, लोसपाका ४, नाउपाका ४, नेमकिपाका १, राष्ट्रिय जनमोर्चाका १, आम जनता पार्टीका १ र स्वतन्त्र २ सांसद छन्।