
काठमाडौं— नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।
संघीय सरकार गठनका लागि सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिन लागेको बताएका छन्।
माओवादीबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजनामन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, वीरबहादुर शाही सामाजिक विकासमन्त्री र रणसिं परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री छन्।
नयाँ गठबन्धनलाई सहज बनाउन सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री परियारले बताए। ‘हामीलाई मुख्यमन्त्रीज्यूले केही भन्नुभएको छैन र दलको बैठक पनि बसेको छैन,’ मन्त्री परियारले भने, ‘हामी चारै जनाले सत्ताबाट बाहिरिनुपर्छ भन्ने सल्लाह गरेका हौँ।’
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल अहिले काठमाडौंमा छन्। माओवादीका मन्त्रीहरू मुख्यमन्त्री कँडेलको प्रतीक्षामा छन्।
केन्द्रमा समीकरण फेरबदल हुने बित्तिकै प्रदेशमा पनि असर पर्ने गरेको छ। नयाँ सत्ता समीकरणलाई सजिलो बनाउन तत्कालै राजीनामा दिन खोजेको भए पनि मुख्यमन्त्री कँडेल प्रदेश बाहिर भएकाले ढिलाइ भएको परियारको भनाइ छ।
कर्णाली प्रदेशमा पहिलो पटक माओवादी सत्ता बाहिर बस्न लागेको हो। प्रदेश सरकार बनेयता कर्णालीमा माओवादी निरन्तर सत्तामा रहँदै आएको थियो। पछिल्लो पटक २०८० चैत २७ मा माओवादी र नेकपा एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए।