प्रहरी सवार गाडी पल्टिँदा ३० जना घाइते

काठमाडौं— प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा बुधबार विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।
घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।
उपचारका लागि पठाइएका मध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ।
सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरी सवार गाडी दुर्घटनामा परेको प्रहरी भनाइ छ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ २०:०१













