
काठमाडौं— चन्द्रागिरि केबलकारमा यात्रुहरू अडकिएका छन्। विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अडकिएका हुन्।
अवरुद्ध विद्युत सेवा सञ्चलनमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ।
उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
केबलकार यात्रु बीचमै अड्किने समस्या पुरानै
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्वारा सञ्चालित केबलकारमा चल्दाचल्दै बीचमै अडकिएको र यात्रु फसेको यो पहिलोपटक होइन।
यसअघि पनि प्राविधिक समस्याका कारण केबलकार अडकिएका छन्। २०७९ असार २२ मा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ४ सय बढी यात्रु केबलकारमा यान्त्रिक गडबडीपछि डिब्बाभित्र फसेका थिए।
यस्तै, २०७८ चैत १६ मा पनि अचानक केबलकार बन्द भएपछि ३७ यात्रु फसेका थिए। २०७५ असारमा पनि केबलकार अचानक बन्द भएको थियो। त्यसबेला विशिष्ट पाहुनासहित बालबालिका र विदेशी नागरिकसमेत केबलकारमा अलपत्र परेका थिए।
गल्ती स्विर्कादैन कम्पनी
व्यवस्थापन पक्षले केबलकारमा समस्या आउँदा सधैँ हावाहुरी, वर्षा र विद्युत् आपूर्तिमा समस्या देखाउने गरेको छ। तर, समस्याको स्थायी समाधान भने खोजेको देखिन्न।













