News Griha :: न्यूजगृह
सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल घटनास्थलमा

चितवन— नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरूलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली घटनास्थल पुगेको छ।

अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरोकारवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ। 

नयाँ गृहमन्त्री रमेश लेखकले आफूले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य छन्।

कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ। असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्स बसमा २७ यात्रु सवार थिए। त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जनामात्रै पौडिएर बाँच्न सकेका थिए। अहिलेसम्म १७ जनाको शव फेला परेको छ। अन्य यात्रु र दुबै बसको अवस्था अज्ञात छ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:४६
Weather Update