पर्वत— हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ। आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ।
महत्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ। पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीवेनी लगायतका नदि तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ।
मोदी र कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीवेणीधाममा भजन कीर्तनसहित विशेष कार्यक्रम समेत राखिएको छ।
त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरू आइपुगेका छन्। मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरू आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन्।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पुजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ।
हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजन कीर्तन समेत आयोजना गरिएको छ। आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ। तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ।