News Griha :: न्यूजगृह
सिमलताल दुर्घटना: १८ जनाको शव भेटियो, ९ जनाको सनाखत

चितवन— नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ।

चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ। अहिलेसम्म शवहरू घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ।  

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका तीन यात्रु भारतीय रहेको र ६ जना नेपाली नागरिक रहेको खुलेको छ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। उनीहरु दुवैको शव घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मङ्गलबार उनीहरूका परिवारले गरेका हुन्। 

 त्रिशूली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन। नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशूली नदीमा बस खोज्ने क्रम जारी राखेको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:५४
Weather Update