विद्यालयमा राजनीति भए प्रअ कारबाहीमा पर्ने

काठमाडौं— काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न दिने प्रधानाध्यापकमाथि कारबाही गर्ने बताएको छ ।
महानगरले आफू मातहतका सबै विद्यालयलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालय हाताभित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरू भएको प्रमाणसहित उजुरी प्राप्त भएपछि सो निर्देशन जारी गरिएको हो ।
‘कुनै पनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’महानगरद्वारा जारी निर्देशनमा भनिएको छ,‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने बेहोरासमेत जानकारी गराइन्छ ।’

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०९:०६













