News Griha :: न्यूजगृह
सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा
घटनास्थल। फाइल तस्बिर

चितवन— नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरूलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

सो टोलीले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भइरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने छ । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनमा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी अध्ययन टोलीको छ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ। असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्स बसमा २७ यात्रु सवार थिए। त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जनामात्रै पौडिएर बाँच्न सकेका थिए। अहिलेसम्म १७ जनाको शव फेला परेको छ। अन्य यात्रु र दुबै बसको अवस्था अज्ञात छ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:५०
Weather Update