
काठमाडौं— जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्नसक्ने सम्भावना रहेको जनाएको छ।
विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए।
'मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ,' उनले भने, 'अहिले पनि बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षा भइरहेको छ।'
महाशाखाका अनुसार हाल देशभरि मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ। 'आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा उल्लेख छ।
यसैगरी, 'बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,' महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
आज देशभरि आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।
बिहीबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।













