
काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सुदूरपश्चिम प्रदेश संसदीय दल नेता फेरिएको छ। बहुमत सांसदले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर खुसीराम डगौरालाई नयाँ दल नेता चयन गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसद छन्। तीमध्ये ५ जनाको समर्थनमा संरक्षक रेशमलाल चौधरी पक्षका धनश्याम चौधरी दल नेता थिए।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच विवाद छ। रेशमलाई साथ दिँदै आएका खुसीराम डगौँरा र लक्ष्मणकिशोर चौधरी दल नेता फेर्ने निर्णयमा अध्यक्ष रञ्जिता श्रेष्ठको कित्तामा देखिएका छन्।
खुसीराम, लक्ष्मणकिशोर, कैलाश चौधरी र टीका थापा सहभागी बैठकले दल नेता परिवर्तन गरेको हो। दल नेता बनाइएका खुसीराम डगौरा यसअघि प्रमुख सचेतकको भूमिका थिए। टीका थापालाई प्रमुख सचेतक र कैलाश चौधरीलाई उपनेताको जिम्मेवारी दिइएको छ।
संसदीय दल नेतालगायत अन्य परिवर्तन गरेको विषयमा प्रदेश सभा सचिवालय पनि जानकारी गराइसकेको छ। नाउपाको संघीय संसदीय दल नेताबाट रञ्जिता श्रेष्ठलाई रेशम समूहले बहुमत जुटाएर हटाएको थियो। गङ्गाराम चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जितालाई दल नेताबाट हटाएर गंगारामलाई नयाँ दल नेता बनाएका थिए।