News Griha :: न्यूजगृह
सरकारले देखेन विद्यालयको दर्द

झापा— सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी) को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि उनी सीमा नाघेर भारतीय विद्यालय धाउन बाध्य छिन् ।

सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ भारतीय विद्यालय जाने गर्छन् ।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन् । ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ सम्म पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए ।

डेढ सय जनसङ्ख्या भएको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भू–भाग हो । जहाँ विकासका कुनै पूर्वाधार पुर्‍याउन सकिएको छैन । स्थानीयवासीले दशकौँदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् तर उनीहरूको आवाजको सुनुवाइ भएको छैन ।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीको रूपमा वि.सं. २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो । कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ । विद्यालयको दुई  ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ । अरू तीन  कक्षाकोठा हुन् । चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ ।

‘शिक्षक आउँदैनन् अनि विद्यार्थी पनि आउन छाडे’, विद्यालयका लागि पाँच कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने,‘नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौँ तर उहाँहरू मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो । अहिले त विद्यालय नै बन्द भयो ।’

उनका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाइ हुँदै आएको थियो । पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे । जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेको उनले जानकारी दिए । 

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्रगान गुञ्जाउँथे । अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्याँस चुल्हाे, प्लास्टिकका भाडाकुँडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ । कक्षा कोठामा डेक्स र बेञ्च एउटा पनि छैनन् ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गरे । उनले सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कुलमा जाने गरेको बताए ।

गत वर्षको अभिलेखअनुसार सो विद्यालयमा १६ विद्यार्थी पढ्थे । पढाउने एक जना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए । अर्का बाल शिक्षक रेवती राजवंशीले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा गइन् ।

शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ । कालिकामा नियमित अध्यापन गराइरहेका ढकाल मेची प्राथमिक विद्यालय जाँदैनन् ।

शिक्षक एकपछि अर्को गर्दै बाहिरिए पछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गर्दै आएका थिए । उनी पनि मेची वारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको दाबी छ ।

वि.सं. २०७० तिर मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाइँ हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजवंशीले बताए ।

उनले भारतीय सीमा सुरक्षा वल (एसएसबी) को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको ?’ भनेर सोध्ने गरेको बताउँछन् ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भू–भाग हो भनेर चिनाउनसमेत त्यहाँको एकमात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे । बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०८:२९
Weather Update