News Griha :: न्यूजगृह
बागमतीमा बेपत्ता बालकको शव १८ घण्टापछि बरामद

रौतहट— रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव बरामद भएको छ।

जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका–३ लक्ष्मीपुरघाटस्थित बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको शव मङ्गलबार बरामद भएको हो।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बालक बेपत्ता भएको १८ घण्टापछि घटनास्थलबाट साढे तीन किलोमिटर टाढा शव बरामद गरेको हो।

गढीमाई ३ लक्ष्मिपुरका सफर कवाडी अन्य दुईजना साथीसहित सोमबार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० वर्षीय सफर भने बेपत्ता थिए।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:५२
Weather Update