News Griha :: न्यूजगृह
स्पष्ट अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । 

माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुङ्गोमा पुगेका हुन्। 

उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन्। केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन्। 

२०७९ पुस २५ गते नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समीकरणबाट उनी मुख्यमन्त्री बनेका थिए। केन्द्रको समीकरण अनुसार बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत रहेकोले उनले विश्वासको मत नपाउने निश्चित छ।

११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:४४
Weather Update