News Griha :: न्यूजगृह
सिमलतालबाट त्रिशूलीमा खसेका २ बसका यात्रुको विवरण सार्वजनिक [सूचीसहित]

चितवन— जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट– मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नामको बसमा चलानमा भए बमोजिम २७ जना र त्यसबाहेक आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ११ जना गरी ३८ जनाको विवरण प्रशासनले सार्वजनिक गरेको छ।

त्यस्तै काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बसमा चलानमा भए बमोजिम २३ जना र आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ४ जना गरी २७ जनाको विवरण छ।

कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्।

शवहरू नारायणी नदीदेखि भारतको गण्डक तलसम्म फेला परिरहेका छन्। सोमबार मात्रै तीन जनाको गरी कुल १४ जनाको शव फेला परेको छ।

तीमध्ये ६ जनाको सनाखत भएको प्रशासन कार्यालयले जनाएको छ। अर्का एक जनाको नाम खुलेको र दुई छुट्टाछुट्टै आफन्तले शवको दाबी गरेकाले दुबिधा उत्पन्न भएको छ।

गत शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:३९
Weather Update