विपद्मा परी बेपत्ता भएको १० दिनपछि मृतकसरह परिवारलाई राहत दिइने

काठमाडौं— सरकारले विपद्का घटनामा परी बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरे मृतक सरह परिवारलाई राहत उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि बेपत्ता व्यक्तिका सन्दर्भमा राहतको व्यवस्था थिएन। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने।’
उनले थपे, ‘यो नयाँ निर्णय हो है। राहतमा चाहिँ त्यो रहेनछ। मान्छे बेपत्ता हुन्छ, हराउँछ हैन, त्यत्तिकै त्यसको केही रहेनछ। यसपटक यो निर्णय गरेको हो।’
मन्त्री गुरुङका अनुसार सोमबार बसेको बैठकले प्राकृतिक प्रकोपमा मृत्यु भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १९:३०