
काठमाडौं— सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो। बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ।
पहिलो मन्त्रिपरिषद्का निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए। कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।
यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए ।
‘मन्त्रिपरिषद्को निर्णयहरू २४ घण्टासम्म गोप्य रहन्छ, मन्त्रीहरूले पनि बाहिर लान पाउँदैन, तर हामी के गर्दा रहेछौँ भने आज नै भन्दिदा रहेछौँ । त्यो हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ, अब दोस्रो बैठकदेखि तपाईंहरूलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषद्को फैसलाहरू त्यो दिन हुन्न, २४ घण्टापछि मैले नै मन्त्रालयमा जानकारी गराउने काम हुन्छ’, उनले भने ।
यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषद्ले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए । मन्त्रिपरिषद्ले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए ।