
काठमाडौं— नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उनलाई गृहमन्त्रीका रुपमा नियुक्त गरेका हुन्।
राजनीतिक विषयवस्तुलाई गहन ढङ्गले विश्लेषण गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिन्छन्। लेखक विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध भए।
उनले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीति सुरुआत गरेका हुन्।
२०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गरे। २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उनी निर्वाचित भए।
जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेले। लोकतन्त्रको बहालीपछि उनी श्रम तथा यातायातमन्त्री भएका थिए।
लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित भए।
लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बने। पत्रकारिता र प्राध्यापनसमेत गरेका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील थिए।
उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेलेका थिए । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन उनले पुर्याएको योगदान स्मरणीय छ।
नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य थिए। गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन्।