
काठमाडौं— मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गरे।
कार्यदलको संयोजकमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल छन्। कार्यदलको सदस्यहरूमा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक छन्।
ऊर्जा नीति शाखाका सिनियर डिभिजनल इन्जिनियर सदस्य सचिव रहनेछन्। पदभार ग्रहण गर्दै मन्त्री खड्काले सबै नेपालीको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाए। उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाए।
उनले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’का सम्बन्धमा देखिएको समस्या समाधान गर्ने बताए। 'म भर्खर आएको छु। केही दिन अध्ययन गर्छु र उपयुक्त निकासका लागि आवश्यक निर्णय गर्छु,' मन्त्री खडकाले भने।
दुई पटक सङ्खुवासभाबाट व्यवस्थापिका संसद्मा निर्वाचित नवनियुक्त मन्त्री खड्का राजनीति, समाजसेवा, पर्यटन, जलविद्युत् क्षेत्रबारे जानकार छन्। उनको पहलमा रसुवामा एक सय २० मेगावाट क्षमताको विद्युत आयोजना निर्माणाधीन छ।