सुकेटार विमानस्थलमा जेठ ११ देखि उडान ठप्प

ताप्लेजुङ— सुकेटार विमानस्थलमा जेठ ११ पछि हवाइ उडान ठप्प छ। बर्खायाम सुरु भएसँगै उडान पनि ठप्प भएको हो । सुकेटारमा नेपाल एअरलाइन्सले उडान गर्दै आएको थियो।
जेठ ११ गतेपछि कुनैपनि उडान नभएको नेपाल एअरलाइन्सको ताप्लेजुङ काउण्टरले जनाएको छ।
‘जेष्ठ सुरुसम्म सातामा तीन दिन उडान तालिका राखिएको थियो,’ विमानस्थलका कर्मचारीले भने, ‘अहिले सातामा एकदिन बुधबार मात्रै उडान तालिका छ। तर मौसमका कारण जहाज चाहिँ आएको छैन।’ अब भदौ महिना भन्दाअघि आउने सम्भावना कम देखिएको सुकेटार विमानस्थल कर्मचारी बताउँछन्।
गतवर्ष पनि जेठ २६ गतेदेखि भाद्र १८ गतेसम्म उडान भएको थिएन। मौसम खुला हुने समयमा नेपाल एअरलाइन्सले सातामा चार दिनसम्म उडान गर्ने गरेको छ। काठमाडौं–ताप्लेजुङ उडान ५५ मिनेटको हुन्छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १८:०१













