
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा चार दल सहभागी भएका छन्।
उनको दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका हुन्।
सुरुमा नै २२ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ। त्यसमध्ये १० जना नयाँ अनुहार रहेका छन्। अर्थात् पहिलोपटक मन्त्री बनेका हुन्। सरकारमा सहभागी दलमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट पहिलोपटक मन्त्री बनेका हुन्।
जसमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा पहिलोपटक मन्त्री बनेकी छिन्। उनी परराष्ट्रमन्त्री बनेकी हुन्। त्यस्तै ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन्।
त्यस्तै कांग्रेसको संस्थापन इतरबाट मन्त्री बनेका चारै जना पहिलोपटक मन्त्री बनेका हुन्।
संस्थापन इतर अर्थात् शेखर–गगन समूहबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी मन्त्री बनेका हुन्। उनीहरु चारै जना नयाँ अनुहार हुन्।
यता नेकपा एमालेबाट पनि केही नयाँ अनुहार सरकारमा देखिएका छन्। जसमा रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता रहेका छन्। उनीहरु पनि पहिलोपटक मन्त्री बनेका हुन्।
अन्य १२ जना भने पूरानै अनुहार रहेका छन्।
सरकारमा दुई उपप्रधानमन्त्री बनाइएको छ। जसमा नेपाली कांग्रेसका तर्फबाट उपप्रधान एवं शहरी विकासमन्त्रीमा प्रकाशमान सिंह र एमालेका विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बनेका छन्।
नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले समेत शपथग्रहण गरिसकेका छन्।