
चितवन— नारायणी नदीमा भेटिएका थप दुई शव सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका यात्रुको भएको पुष्टि भएको छ।
यसअघि पाँच यात्रुको शव भेटिएर आफन्तले सनाखत गरेका थिए। खोजी र उद्धारका क्रममा हालसम्म नारायणी नदी तट र त्रिवेणी नहरबाट ११ शव भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरणअनुसार नवलपरासीको त्रिवेणीमा फेला परेका दुई शवको सनाखत भएको छ। एउटा शव वीरगञ्जबाट काठमाडौं गइरहेको बसका यात्रु भरतपुर महानगरपालिका-२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विकको भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।
अर्को शव भने काठमाडौंबाट गौर जाँदै गरेका बसका यात्रु रौतहट जिल्ला जमुनामाई-४ का १७ वर्षीय फिरोज राहुप मियाको रहेको डीएसपी रिजालले जानकारी दिए।
शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन्।
प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री थिए। जसमा तीनजना यात्रु सकुशल छन्। दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।













