नारायणी नदीमा थप ४ शव भेटिए, सनाखत हुन बाँकी
-1720969482.jpg)
काठमाडौं— नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका—७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका—२६ सिसुवामा एउटा शव फेला परेको हो।

शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन्।
यसअघि पाँच शव फेला परेको थियो । नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ।

गत शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पुर्याएको थियो। ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर निस्किएका थिए।
अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ २०:५०













