News Griha :: न्यूजगृह
सिमलताल बस दुर्घटनाः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउने तयारी

भरतपुर— गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्। 

सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए। 

उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए।

‘यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,’ उनले भने, ‘अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ।’

उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए। सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ। 

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ। 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:००
Weather Update