News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता बसमा सवार यात्रुको खोजीमा तिव्रता दिन प्रचण्डको निर्देशन

काठमाडौं— कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजीमा तिव्रता दिन निर्देशन दिएका छन्।

आइतबार बिहान तीनवटै सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका थिए। सो अवसरमा प्रचण्डले सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तिव्रता दिन निर्देशन दिएका हुन्। 

साथै, सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्।

उक्त अवसरमा उनले सिमलताल लगायत  देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गरे।

शुक्रबार बिहान २ वटा बस भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोमा परि त्रिशूली नदीमा बेपत्ता भएको छ। हालसम्म ५ जनाको शव भेटिएको छ भने ठूलो संख्यामा सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीको परिचालन गरी उद्दारको काम भइरहेको छ।  

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:५१
Weather Update