News Griha :: न्यूजगृह
अब बन्ने सरकारमा कम्तिमा ४ मन्त्रीको अडानमा शेखर–गगन समूह

काठमाडौं— नेपाली कांग्रेसको शेखर–गगन समूहले अब बन्ने नयाँ सरकारमा संस्थापन इतरबाट कम्तिमा ४ मन्त्री दाबी गर्ने निष्कर्ष गरेको छ। 

मन्त्री छनोट लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेस नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो। 

बैठकमा सहभागि नेता अर्जुननरसिंह केसीले आफूहरु ६०–४० को अडानमा रहेको बताउँदै कम्तिमा ४ मन्त्री पाउनुपर्ने र सभापति शेरबहादुर देउवासँग सोही अनुसार छलफल गर्ने बताए। 

उनका अनुसार डा. कोइरालाले ५ मन्त्री चाहिने अडान राखे पनि आजको बैठकमा कम्तिमा ४ मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको हो।  

छलफलमा शेखरसहित महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे र जीवनबहादुर परियारसहित नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू र डा. मिनेन्द्र रिजाल सहभागि थिए। 

कांग्रेसको समर्थनमा आज एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। त्यस अनुसार कांग्रेसले अब बन्ने सरकारमा सहभागि मन्त्रीहरुको विषयमा छलफललाई तीव्रता दिएको छ। 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:१७
Weather Update