News Griha :: न्यूजगृह
गृह मन्त्रालयबाट बिदा हुँदै रविले भने– आजैबाट मेरो विषयमा गहन अध्ययन गर्नुस्

काठमाडौं— निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपका विषयमा गहन अध्ययन गरेर छानबिन गर्न गृह प्रशासनसँग आग्रह गरेका छन्। 

आइतबार दिउँसो गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले सो कुरा बताए। 

त्यस्तै आफू छोटो समयमा गरेका कामका विषयमा समीक्षा गर्दै आफूमाथि उठेका कैयौँ विषयमा अध्ययन गरी छानबिनको दायरामा ल्याउन आग्रह गरेका हुन्। 

‘म माथि पनि विभिन्न विषयमा प्रश्न उठेको छ। आजैबाट मेरा विषयमा गहन अध्ययन गर्नुहोस्,’ उनले भने।  

त्यस्तै कैयौँ मुद्दाहरु, कैयौँ विषयहरु भागबण्डाका आधारमा टुंगिने भन्दै आफ्नो कार्यकालमा त्यस्तो नगरेको समेत दाबी गरे। प्रहरी प्रशासनदेखि अन्यमा नियुक्ति र सरुवा बढुवामा आफूले कहीँकतै दबाब नदिएको समेत बताए।

संसद्मा यसअघि पनि आफूहरु प्रतिपक्षमा रहेका र अब पनि प्रतिपक्षमा रहने बताउँदै अबका दिनमा भने थप जिम्मेवारीका साथ प्रतिपक्षमा रहने बताए। दुई ठूला दलहरु मिलेको र त्यसले लोकतन्त्रमा चुनौती थपिएकोमा जोड दिँदै आफू संसद्मा प्रतिपक्षका रुपमा थप दरिलो भएर उभिने विश्वास व्यक्त गरे।

‘अब म प्रतिपक्षका रुपमा थप अलि विशेष जिम्मेवारीका साथ हुनेछु। अहिले दुई ठूला दलहरु मिलेका छन्। त्यसो अलि चुनौतीपूर्ण रहने,’ उनले भने।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:३४
Weather Update