News Griha :: न्यूजगृह
स्वर्णिम वाग्लेको सचिवालयबाट मुकुललाई धम्की

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलिम्बत महामन्त्री डा. मुकुल ढकालले आफूलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की आएको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै ढकालले वाग्लेको सचिवालयबाट आफूलाई ज्यानमार्नेसम्मका धम्की आएको बताए। 

हालैको एक टेलिभिजन अन्तर्वार्तामा ढकालले केही समय अघिको प्रशंगलाई लिएर स्वर्णिमको आलोचना गरेका थिए। 

उनले रास्वपा सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन भारतसँग पहल गर्न पार्टीबाट दबाब आएको बताएका थिए।

साथै सो क्रममा स्वर्णिमले लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि नेपाललाई भारतको एक राज्य बनाउनेसम्मका प्रस्ताव गर्न समेत दबाब दिएको आरोप लगाएका थिए। 

उक्त अन्तर्वार्ता प्रशारण भएपछि स्वर्णिमको सचिवालयबाट आफूलाई पटकपटक फोन गरेको तर आफूले फोन नउठाएपछि आफ्नो सचिवालयमा फोन गरेर  ‘मुकुललाई काट्छु, त्यसलाई छाड्दिन’ भन्नेसम्मका धम्की आएको बताए। 

‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरे मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन...’ लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

मुकुलले देशभर घुमेर तयार पारेको प्रतिवेदन पार्टीलाई बुझाएपछि उत्पन्न परिस्थितिका कारण उनलाई पार्टीले कारबाही गरेको छ। उनलाई साधारण सदस्य रहने तर पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत निलम्बन गरेको छ।  

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:२५
Weather Update