News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश सरकार संकटमा 

काठमाडौं— केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै माओवादी केन्द्र नेतृत्वको लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। 

अहिले लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार रहेको छ। तर केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने भएसँगै महरा नेतृत्वको सरकार संकटमा परेको हो। 

केन्द्रमा समीकरण फेरिएसँगै उनलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको दल नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको छ। 

नेकपा एमालेसहित ५ दलका ४८ सांसदहरुको समर्थनमा गत चैत २३ गते महरा मुख्यमन्त्री बनेका थिए। 

असार २० गते नै २९ सांसदसहित प्रदेशमा ठूलो दल रहेको प्रमुख सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री उनी अल्पमतमा परेका छन्। 

अन्य दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री  महरासँग अब उनको दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १ सांसद मात्रै उनको साथमा रहेका छन्। 

त्यसो त त्यसअघि नै गत असार ९ गते उपेन्द्र यादव नेतृत्वकी जसपा नेपालमा सांसद अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन्। त्यसपछि विश्वासको मत लिएर सरकार टिकाए पनि मुख्य सत्ता साझेदार दलले नै समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो। 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:४५
Weather Update