News Griha :: न्यूजगृह
गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव

चितवन— भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ।

गोलाघाटमा नारायणी र राप्ती नदी मिसिन्छन्। नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरू त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए।

खोजी गर्दै जाँदा अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

शनिबार गालाघाटमै भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो। 

शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो। ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ। 

विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ। भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले २ वटा यात्रुबाहक बस त्रिशूलीमा हुलेको थियो।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।

यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए। तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:२५
Weather Update