
चितवन— सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ। सनाखत भएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो। मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
बिहेको भिडिओ खिच्न भन्दै विकास भरतपुरबाट काठमाडौं जान बस चढेका थिए। हिजो गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ। उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ। अहिलेसम्म पहिरोमा परेका तीन जनाका शव भेटिएको थियो।
भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साहको पनि सनाखत चएको छ। साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले २ वटा यात्रुबाहक बस त्रिशूलीमा हुलेको थियो। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।
यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए। तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन।













