बारा— कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन्।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन्। जागिरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन् तर काठमाडौं नपुग्दै उनी त्रिशूलीमै बेपत्ता भइन्।
योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ। सृष्टिका बुबा जगदीशप्रसादले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए।
दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनले भने,'छोरी काठमाडौं गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थी तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन्।'
छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किनारामा भौतारिरहेका छन्।
'छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्,' उनको भनाइ छ।