News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ बस र ४८ यात्रुको अवस्था अझै अज्ञात
खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी

चितवन— नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार मृतावस्थामा तीनवटा शव भेटिएको छ भने दुईजनाको पहिचान खुलेको छ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन्। साहको शव शनिबार बिहान ११ बजे र माझीको शव शनिबार साँझ भेटिएको हो। माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेका प्रहरी जनाएको छ। 

काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो।

gotakhor-1-trishuli-1720887033.jpg
गोताखोर

ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिबार साँझदेखि खोजीको काम रोकिएको छ।

आइतबार बिहान ७ बजेबाट पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनकाकानुसार आइतबार गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ। 

शुक्रबार काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए। काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:५७
Weather Update