
चितवन — नवलपरासी गैँडाकोट नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएका दुईमध्ये एक शव शुक्रबार बिहान चितवन सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेको बसका यात्रुकै भएको पुष्टि भएको छ।
दुईमध्ये एक शव काठमाडौंबाट गौर जाँदै गरेको बसका यात्रु १९ वर्षीय रमितकिशोर माझीको भएको उनका बुबाले पुष्टि गरेको चितवन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सिमलतालको पहिरोमा परेर दुईवटा बस त्रिशूलीमा हराइरहेका छन्। एउटामा २४ र अर्कोमा २७ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ। तीमध्ये तीन यात्रुमात्र सकुशल रहेका छन्। हराइरहेको बसमा रहेका अरू यात्रीमध्ये हालसम्म दुई जनाको शव फेला परेर आफन्तले सनाखत गरेका छन्।
हराइरहेका बस र यात्रुको खोजी कार्य आज साँझबाट स्थगित भएको र भोलि बिहान आठ बजेबाट खोजी सुरु हुने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी गराएका छन्।













