News Griha :: न्यूजगृह
सेन्ट जेभियर्स कलेजको लापरबाही, सही सूचना नदिँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
माइतीघरस्थित सेन्ट जेभियर्स कलेज। तस्बिर: ईश्वर आचार्य

काठमाडौं— माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन्।

कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरू शनिबार बिहान ७:१५ बजे कलेज परिसर पुगेका थिए। तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो।

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, 'प्रवेश परीक्षा लिन भनेर हामीसँग एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो।' 

विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरूले दुःख पाएको  गुनासो गरे।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए। कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो। तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन्। 

दार्चुलाका विद्यार्थी रश्मि साउदले काठमाडौं आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताइन्। कलेजका प्रिन्सिपल फादर डा अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरकफरक सूचनाका कारण विद्यार्थीहरू प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गर्छन्।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:२५
Weather Update