News Griha :: न्यूजगृह
गैँडाकोटमा पनि भेटियो दुई शव, सिमलतालबाट बससँगै त्रिशूलीमा खसेका यात्रु हुनसक्ने

चितवन— चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी रहँदा आजै अपरान्ह पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ। 

माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव सिमलताल घटनापछि त्रिशूली नदीमा हराइरहेका यात्रुको हुनसक्ने अनुमान गरिएको छ। 

चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले शव भेटिएको पुष्टी गर्दै सिमलताल घटनामा परेका यात्रुको हो की होइन भनेर यकिन गर्न बाँकी रहेको बताए। उनले भने, 'गैँडाकोट प्रहरीले दुई शव फेला पारेको छ, मुचुल्का सकेर शव चितवन ल्याएपछि उक्त घटनामा परेका यात्रुको हो की होइन भनेर परीक्षणको काम थालिन्छ।'

एउटा पुरुषको शव खुट्टामा जुत्ता र भित्री वस्त्रमात्रै रहेकोअवस्थामा भेटिएको छ भने अर्को शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गाडिएको शवलाई खनेर निकालिएको छ। यसअघि आज बिहान जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका एक यात्रुको शव फेला परेको थियो।

'नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो। शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषि पल साहको रहेको पुष्टि गरियो,' प्रवक्ता रिजालले भने। साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाइ सत्यपाल साहले जानकारी दिए। भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको उक्त बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाएका थिए।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको गोताखोर टोलीले 'स्नेक आइ' क्यामराको सहयोगमा खोजी थालेको छ। उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ।  

शुक्रबार बिहान अन्दाजी ३ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा डुबेर बेपत्ता भएको हो। दुवै बसमा ५४ जना यात्रु रहेको खुले पनि सङ्ख्या अझै तलमाथि हुनसक्ने प्रहरीले जनाएको छ।  

सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन्। शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिए पनि यसअघि एञ्जल डिलक्सको पर्दा र बच्चाको सुरुवालमात्रै प्रहरीले भेटेको छ।

एञ्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका गाडी हुन्।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:११
Weather Update