काठमाडौं— तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन् ।
बुधबार चितवनको मुग्लिनमा आयोजित धन्यवाद सभामा डा.वाग्लेले विपक्षीले निम्नस्तरको गाली गरेको बताए ।
सांसद वाग्लेले कांग्रेस महामन्त्रीद्वय शर्मा र थापातर्फ लक्षित गर्दै सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजमा उत्रिएको बताए ।
‘चुनावी अभियानका क्रममा हामीले विपक्षी दललाई कुनै कटाक्ष गरेनौँ, गालीगलौज गरेनौँ । तर तपाईंहरूले सुन्नुभयो विपक्षी साथीहरूले, कस्तो सम्भावना भएका नेताहरू कुन स्तरमा ओर्लेर गालीगलौजमा उत्रिए,’ डा.वाग्लेले भने,‘मलाई दुःख छ ।’
चुनावी प्रचारप्रसार अभियानका क्रममा गगन थापाले तनहुँमा र विश्वप्रकाश शर्माले चितवन पुगेर डा.वाग्लेको आलोचना गरेका थिए ।













