
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।
आइतबार साँझ ५ बजे प्रधानमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै साढे ५ बजे शपथको तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। आइतबार साँझ शपथको तयारी शुरू भएको शीतलनिवास स्रोतले जानकारी दियो।
‘मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव र प्रधानमन्त्रीको सचिवालय (कामचलाउ प्रधानमन्त्री प्रचण्ड)बीच समन्वय गर्ने काम भइरहेको छ, आइतबार साँझ शपथ हुन्छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
नेपाली कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरिएको थियो। राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए। माओवादी संसदीय दलका नेता प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकार गठनको दाबी पेस गरेका थिए।
प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीले पनि आइतबार नै शपथ लिनेगरी तयारी भइरहेको स्रोतले बतायो।