News Griha :: न्यूजगृह
कांग्रेस, एमाले र नाउपाले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संयुक्त रुपमा आग्रह गरेका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा तीन दलले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन्।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए। उनले भने, 'अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन।'

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नाउपाका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेका छन्। संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन असार २३ गते फिर्ता लिएको थियो।

एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन्। एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ। बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:२२
Weather Update