News Griha :: न्यूजगृह
प्रधानमन्त्री पदमा ओलीको नियुक्ति र शपथ आइतबारमात्रै
फाइल तस्बिर।

काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ।

शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

‘उहाँको शपथ र नियुक्ति आइतबारमात्रै हुन्छ। त्यसअघि पेस हुन आएका निवेदनबारे राष्ट्रपतिज्यूले अध्ययन गर्नुहुन्छ,’ राष्ट्रपतिको सचिवालयले भन्यो। 

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएसँगै राष्ट्रपतिले साँझ बहुमतको सरकार गठनका लागि आइतबारको समयसीमा दिएर आह्वान गरेका थिए।

शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्ति र लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए। ‘यस पटक मन्त्रालय बाँडफाँटमा कुनै झमेला छैन। अधिकांश बाँडफाँट टुंगिसकेको छ, बाँकी शनिबारसम्म टुङ्ग्याउँछौ,’ लेखकले भने। 

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले दाबी पेस भएपछि कतिबेला प्रधानमन्त्री नियुक्ति गर्ने भन्ने कुरा राष्ट्रपतिको स्वविवेकमा भर पर्ने बताए। ‘कांग्रेस र एमालेको बहुमत हस्ताक्षरसहित दाबी पेस गरिएको छ। प्रधानमन्त्री नियुक्ति कहिले र कुन समयमा गर्ने भन्ने कुरा उहाँको जिम्मेवारीभित्रको काम हो,’ बर्तौलाले भने। 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:००
Weather Update