
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए। ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
संसद्का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकार कै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेका सांसदको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
'आज दाबी पेस गरिएको छ, नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपतिको कुरा हो,' कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो। लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए।
संविधानको धारा ७६ (२) वा (३) मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।